आगामी पाँच वर्षमा चीनको आयात १७ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण

आगामी पाँच वर्षमा चीनको वस्तु तथा सेवाको आयात १७ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । छैटौँ चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पो र होङकियो इन्टरनेसनलको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले आइतबार आफ्नो मुख्य मन्तव्य दिँदै यस्तो प्रक्षेपण गरिएको बताएका हुन् ।

चीन सँधै आफ्नो बजार अवसरहरू साझा गर्न इच्छुक रहेको उल्लेख गर्दै लीले देशले सक्रियरूपमा आयात विस्तार गर्ने, वस्तु तथा सेवाको व्यापारको समन्वित विकासलाई प्रवर्द्धन गर्ने, विदेशी व्यापार ढाँचा र मोडलहरूमा नवप्रवर्तनलाई समर्थन गर्ने र डिजिटल व्यापारलाई बढावा दिने बताए ।

उनले उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीका अवरोध हटाउन देशले बजारको पहुँचलाई थप विस्तार गर्ने र नीति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । चीनको खुलापनमा शांघाईको अग्रगामी भूमिकालाई अझ राम्रोसँग खेल्न लीले शांघाई मुक्त व्यापार क्षेत्रमा उच्चस्तरको संस्थागत खुलापनलाई प्रवर्द्धन गर्ने योजना छिट्टै जारी गरिने र सिल्क रोड ई–वाणिज्य सहयोगको लागि पाइलट जोन स्थापना गरिने बताए ।

 

Comments

Back to top