काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचीकृत गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो।

महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत् जनाएको छ। चलचित्र क्षेत्रको विकास र बिस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ।

यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ। नेपालको राजधानी शहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचिकृत गरेको थियो। विश्व शहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ। युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ शहर सूचिकृत गरेको हो। 

यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन्। चलचित्र उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन नीति रहेको छ। 

Comments

Back to top