डब्लूएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छिन् । नयाँदिल्लीमा बुधबार भएको निवार्चनमा नेपालका उम्मेदवार शम्भुप्रसाद आचार्यलाई पराजित गरिन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको छोरीसमेत रहेकी वाजेदले ८ मत प्राप्त गर्दा आचार्यले २ मत प्राप्त गरे । नेपालले डब्लूएचओमै कार्यरत आचार्यलाई उम्मेदवार बनाएको थियो । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको थियो ।
डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ । यसअन्तर्गत ११ देश सदस्य छन् ।
पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । अहिले क्षेत्रीय निर्देशक पदमा भारतकी डा. पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दै छिन् ।
डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् ।
Comments