इजरेलद्वारा हमासविरुद्ध युद्धविराम प्रस्ताव अस्वीकार
इजरेलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् ।
“युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग अस्वीकार गर्दै उनले भने ।
“यस्तो हुने छैन”, विदेशी पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “इजरेलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”
अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरेलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ ।
हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।
त्यसयता इजरेलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । गाजाभित्र भने लामो समयदेखि अपेक्षित स्थल युद्ध भइरहेको थियो ।
Comments