शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छः महासचिव गुटेरेस
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन् ।
ललितपुरको पुल्चोकमा रहेको राष्ट्र सङ्घ भवनमा आज सोमवार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ ।’
महासचिव गुटेरेसले नेपाललाई आर्थिक–सामाजिक र हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँ रहेको राष्ट्र सङ्घीय कार्यालयका कर्मचारीलाई आग्रह गरे । उनले नेपालीलाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका हुन् । देशबाट विकासशील देशका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे । उनले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए ।
महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन गरेर काम गर्नुपर्ने बताए ।
नेपालमा रहेको राष्ट्र सङ्घीय कार्यालयका आवासीय संयोजक हाना सिङ्गरले राष्ट्र सङ्घको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील देशमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे । संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो ।
Comments