नोबेल पुरस्कारको कहिले र कसरी सुरुवात भयो ?
स्विडेनका रसायनशास्त्री एवं १९औँ शताब्दीका व्यवसायी अल्फ्रेड नोबेलले नोबेल पुरस्कार स्थापना गरेका हुन् । उनीसँग तीन सयभन्दा बढी पेटेन्ट थिए तर नोबेल पुरस्कार स्थापना गर्नुअघि उनले आविष्कार गरेको डाइनामाइटले ठूलो ख्याति कमाएको थियो ।
चाँडै नै निर्माण क्षेत्र र खानीका साथै हतियार उद्योगमा डाइनामाइट लोकप्रिय भयो । यसले नोबेललाई धेरै धनी बनायो । जीवनको आखिरी समयतिर उनले आफ्नो सम्पत्तिलाई वार्षिक पुरस्कार कोषका लागि प्रयोग गर्ने निर्णय गरे ।
उनको निधनको पाँच वर्षपछि सन् १९०१ मा पहिलो नोबेल पुरस्कार प्रदान गरियो । सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्कद्वारा अर्थशास्त्रका लागि छैटौँ पुरस्कार सिर्जना गरियो ।
प्राविधिकरूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई नोबेल विशुद्धतावादीहरूले नोबेल पुरस्कार नभने पनि यो पुरस्कार अन्य नोबेल पुरस्कारसँगै प्रदान गरिन्छ ।
समग्ररूपमा स्पष्ट नभए पनि अल्फ्रेड नोबेलले शान्ति पुरस्कार नर्वेमा र अन्य पुरस्कार स्विडेनमा प्रदान गरिने निर्णय गरे । नोबेल इतिहासकारहरूले उनको यो निर्णय स्विडेनको सैन्यवादको इतिहास एउटा कारण हुनसक्ने आशङ्का गरेका छन् ।
नोबेलको जीवनकालमा स्विडेन र नर्वे एउटै सङ्घमा थिए । स्विडेनले सन् १८१४ मा आक्रमण गरेपछि नर्वेलीहरू अनिच्छुक हुँदै सङ्घमा सामेल भएका थिए । ‘राष्ट्रहरूको मेलजोल’ लाई प्रोत्साहित गर्न नर्वे सबैभन्दा उपयुक्त हुनसक्छ भन्ने नोबेलले सोचेको हुनुपर्छ ।
त्यस दिनदेखि आजसम्म नोबेल शान्ति पुरस्कार पूर्णरूपमा नर्वेली मामिला भएको छ । नोबेल शान्ति पुरस्कारको छनोट र घोषणा नर्वेली समितिले गर्छ । शान्ति पुरस्कार अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा नर्वेको राजधानी ओस्लोमा आफ्नै समारोहमा प्रदान गरिन्छ भने अन्य पुरस्कार स्टकहोममा प्रदान गरिन्छ ।
नोबेल पुरस्कारले राजनीतिक मैदानभन्दा माथि मानवताको हितमा मात्र जोड दिन्छ । तर विशेषगरी कहिलेकाहीँ शान्ति र साहित्यतर्फको पुरस्कारमा राजनीतिकरण भएको आरोप लाग्ने गरेको छ । उच्च प्रोफाइल पुरस्कारका लागि छानबिन तीव्र हुनसक्छ जस्तो कि पदभार ग्रहण गरेको एक वर्षभन्दा कम समयमा सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले नोबेल शान्ति पुरस्कार प्राप्त गरे ।
नर्वेली नोबेल कमिटी एउटा स्वतन्त्र संस्था हो र अल्फ्रेड नोबेलको इच्छा पूरा गर्नु उसको एक मात्र मिसन हो । यद्यपि यो नर्वेको राजनीतिक प्रणालीसँग जोडिएको छ । कमिटीका पाँच सदस्य नर्वेली संसद्ले चयन गर्छ । त्यसैले कमिटीको संरचनाले संसद्को शक्ति सन्तुलनलाई प्रतिबिम्बित गर्दछ ।
नोबेल शान्ति पुरस्कामा नर्वेको राजनीतिक नेताहरूले प्रभाव पार्छन् भन्ने धारणाबाट बच्न नर्वेली सरकार वा संसद सदस्यहरूलाई कमिटीमा राख्न निषेध गरिएको छ । यति हुँदाहुँदै पनि उक्त कमिटीलाई विदेशी मुलुकहरूले सधैँ स्वतन्त्ररूपमा लिँदैनन् ।
जेलमा रहेका चिनियाँ शासनबाट असन्तुष्ट लिउ जियाओबाले सन् २०१० को नोबेल शान्ति पुरस्कार जित्दा बेइजिङले नर्वेसँगको व्यापार वार्ता रोकेर प्रतिक्रिया दिएको थियो । नर्वे–चीन सम्बन्ध पुनःस्थापित हुन कयौँ वर्ष लाग्यो ।
Comments