आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिँदै

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । 

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । 

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने  शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त भयो । शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि शुरु गरिँदैछ । आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिने जनाइएको छ । 

 

Comments

Back to top