मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या
मुगुस्थित एक गाउँमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी गराए।
शुक्रबर बिहान ११ बजे खबर पाउना साथ घटनास्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्रीदेवी बोहोरा छोरा छोरीसहित ७ गते बिहान दशैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए ।
८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको अनुमान गरिएको छ । ९ गते बिहानै देखि घर बाहिर ताला लगाएको देखिएपछि छिमेकीहरुले बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् भन्ने सोचेका रहेछन् ।
१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि गाउँलेहरुले फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि गाउँलेहरुले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् ।
कसले के उद्देश्यले हत्या गर्यो त्यो खुल्न सकेको छैन । सबै क्षेत्रबाट विस्तृत अनुसन्धान गरी हत्यारा पत्ता लगाइ कानूनको कठघरामा उभ्याइ छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए ।
हत्या गरिएका चारै जनाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।
Comments