जर्मन कार निर्माता मर्सिडिज–बेन्जको मुनाफामा गिरावट

जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बताएको छ । 

जुलाईदेखि सेप्टेम्बरसम्मको आवधिमा खुद मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरो भएको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । यो वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकहरूले गरेको भविष्यवाणीभन्दा केही राम्रो थियो । विश्लेषकहरूले समीक्षा अवधिमा कम्पनीको मुनाफा तीन अर्ब ४० करोड युरो हुने अनुमान गरेका थिए । 

उक्त अवधिमा कम्पनीको आम्दानी एक दशमलव चार प्रतिशतले घटेर ३७ अर्ब २० करोड युरो भएको छ। केही पार्ट्सको कमीका कारण तेस्रो त्रैमासिकमा यात्रुवाहक कारहरूको विक्री करिब पाँच प्रतिशतले कम भएकाले आम्दानीमा पनि गिरावट भएको बताइएको छ । 

तेस्रो त्रैमासिकमा मर्सिडिजको बिक्री ११ प्रतिशतले घटेको छ । यो अवधिमा भने विद्युतीय सवारीको बिक्री भने ६६ प्रतिशतले बढेको थियो ।

Comments

Back to top