कतारमा पक्राउ परेका आठ भारतीय पूर्व नौसैनिकलाई मृत्युदण्डको फैसला
कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।
“कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा आज फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं ।”
सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।
मार्चको अन्त्यमा ती भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाई गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गरेकी थिइन्।
Comments