इजरायलले माग्यो राष्ट्रसङ्घका महासचिव गुटेरेसको राजीनामा
अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा माग गरेको छ ।
राष्ट्रसङ्घमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरे ।
‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजरायली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन,’ सामाजिक सञ्जाल एक्समा उनले भने ।
राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजरायलको यो भनाइ आएको हो ।
Comments