चिनियाँ विदेशमन्त्री वाङ यी अमेरिकाको भ्रमणको तयारीमा
चीनका विदेशमन्त्री वाङ यी यसै हप्ता अमेरिकाको भ्रमणमा जाने भएका छन् । उनको भ्रमण आउँदो महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङबीच हुन लागेको सम्भावित बैठकभन्दा अघि हुन लागेको हो ।
विदेशमन्त्री यीको तीन दिने भ्रमणमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । तर उनले राष्ट्रपति बाइडेनलाई भेट्छन् वा भेट्दैनन् भन्नेबारे खुलेको छैन।
अमेरिका र चीनबीच तनाव बढिरहेको अवस्थामा बाइडेन प्रशासनले बेइजिङसँग वार्ताका लागि दबाब दिने प्रयास गरिरहेको छ । इजरायल र हमास समूहबीच युद्ध भइरहेको बेला अमेरिकाले इजरायललाई आफ्नो समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेको अवस्थामा चिनियाँ विदेशमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो ।
यसका साथै ‘दक्षिण र पूर्वी चीन सागर, क्रस–स्ट्रेट मुद्दा, मध्यपूर्व, युक्रेनमा रुसको युद्धलगायतका मुद्दामा अमेरिकी अधिकारीहरूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने अपेक्षा गरिएको छ ।
Comments