भारतको केन्द्रीय राजधानी दिल्लीमा बढ्यो वायु प्रदूषण

भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको छ । सरकारी तथ्यांक अनुसार आज त्यहाँको पीएम २ दशमलव ५ को स्तर ३०६ पुगेको छ। पीएम २ दशमलव ५ भनेको फोक्सोलाई ढाकेर धेरै थरी रोग उत्पन्न गराउने धुलोका कणहरूको मात्रा हो । यसको मात्रा १०१ देखि २०० सम्म हुनुलाई मध्यम र २०१ देखि ३०० सम्म हुनुलाई कमजोर मानिन्छ । तीन सयभन्दा माथि जानुलाई अत्यन्त कमजोर मानिन्छ ।

भारतको मौसम विभागका एक वैज्ञानिक भीके सोनीले दिल्लीको वायुको गुणस्तर आउँदा केही दिन अझै खराब अवस्थामा पुग्ने बताएको बीबीसीले जनाएको छ।

वर्षभरी नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ । तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटका लगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ ।

Comments

Back to top