मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना भारतीय तीर्थयात्री घाइते
मकवानपुरमा भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा दुर्घटनामा परी घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३–००१ज०२८३ नम्बरको सुमो मंगलबार बिहान ३ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । उनले सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको बताए ।
प्रहरी नायब उपरीक्षक भण्डारीले सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको बताए । सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उनले जानकारी दिए ।
Comments