गुगलले आफ्ना पिक्सेल स्मार्टफोन भारतमा उत्पादन गर्ने

गुगलले आफ्ना पिक्सेल स्मार्टफोन भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले बिहीवार नवौं संस्करणको भारत केन्द्रित वार्षिक कार्यक्रममार्फत यस्तो घोषणा गरेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

गुगलले यसै अङ्ग्रेजी महिनाको सुरुतिर पिक्सेल एट सिरिज सार्वजनिक गरेको थियो । यही स्मार्टफोन भारतमा निर्माण हुने गुगलको पहिलो पिक्सेल फोन हुन सक्ने बताइएको छ, जुन २०२४ मा रोलआउट गर्ने अपेक्षा गरिएको छ ।

"भारतका थप मानिसहरूलाई पिक्सेल स्मार्टफोनमाथिको फराकिलो उपलब्धता कायम गराउने कार्यमा अझ धेरै अवसर देखिरहेका छौं र हाम्रो पिक्सेल स्मार्टफोन भारतमा उत्पादन गर्ने योजना घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित छौं," गुगलको डिभाइस तथा सर्भिसका भीपी रिक ओस्टरलोले भनेका छन् ।

"मेक इन इन्डिया अभियानमा जोडिंदै स्थानीय रूपमा पिक्सेल फोन उत्पादन गर्न हामी अन्तर्राष्ट्रिय तथा घरेलु निर्माताहरूसँग साझेदारी गर्नेछौं," ओस्टरलोले अगाडि भनेका छन् । उनले भारत पिक्सेल डिभाइसका लागि पहिलो रोजाइको बजार भएको उल्लेख गर्दै म्यानुफ्याक्चरिङका लागि विश्वस्तरीय हब बन्दै गएको र र उत्साहजनक व्यावसायिक वातावरण तयार भइरहेको सन्दर्भलाई लिएर प्रशंसा समेत गरेका छन् ।

एजेन्सी

Comments

Back to top