सर्वसाधारण हताहत हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्नेछ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको ज्यान जान नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् ।

तेल अभिभमा नेतन्याहुको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘आफ्ना नागरिकको रक्षाका लागि काम गर्नका लागि हामी इजरायललाई सहयोग जारी राख्नेछौँ । हामी निर्दोष नागरिकलाई थप त्रासदी रोक्नका लागि तपाईँ र यस क्षेत्रका साझेदारहरूसँग काम जारी राख्नेछौँ ।’ तेल अभिभमा नेतन्याहुको युद्ध मामिला हेर्ने उच्चस्तरीय समितिसँग भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले भने ।

प्रतिक्रियामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए । नेतन्याहुले बाइडेनसँग भने, ‘इजरायलले युद्धमा नागरिकलाई हानीको अवस्थाबाट टाढा राख्न सक्दो प्रयास गर्नेछ । हामीले उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेका छौँ र हामी उनीहरूलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिरहनेछौँ । न्यूनतम आवश्यकता पूरा भएको सुनिश्चित गर्न हामी तपाईँसँग मिलेर काम गरिरहनेछौँ ।’ 

इजरायली हवाई अभियानलाई उत्प्रेरित गरेको र गाजा पट्टीमा जमिनी आक्रमणको खतरा बढेपछि बाइडेनले इजरायलको ऐक्यबद्धता भ्रमण गर्न लागेका हुन् । 

भ्रमणको पूर्वसन्ध्यामा गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाभन्दा धेरैको ज्यान गएको हमास नियन्त्रित गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणका लागि इजरायललाई दोषी ठहराएका छन् जसले अरब विश्वमा आक्रोश फैलाएको छ । 

विश्व समुदायले चासो व्यक्त गरेपछि नेतन्याहुले अस्पतालमा भएको आक्रमणबारे भने, ‘पूरै विश्व नै आक्रोशित भएको छ । तर यो आक्रोश इजरायलप्रति होइन, आतङ्कवादीहरूप्रति लक्षित हुनुपर्छ ।’

Comments

Back to top