त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा, सन्दीपलाई समावेश गरिएन
नेपाल क्रिकेट संघ क्यानले हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने अन्तिम टोली घोषणा गरेको छ ।
रोहित पौडेलको कप्तान रहेको १८ सदस्यीय टोलीमा ललित राजवंशीले पुनरागमन गरेका छन् । उनी घाइते भएकाले १९ औं एसियाली खेलकुदमा सहभागी हुन सकेका थिएनन् । शल्यक्रिया गरेका ललित ४ हप्ताको आरामपछि टिममा फर्किएका हुन् ।
यस्तै लोकेश बम, श्याम ढकाल र सूर्य तामाङले पनि टिममा पुनरागमन गरेका छन् । टोलीमा सन्दीप लामिछाने भने परेका छैनन् । लामिछाने आफैले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए ।
नेपालले पहिलो खेल कात्तिक १ गते यूएईसँग र दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । कात्तिक ४ गते हङकङ तथा कात्तिक ६ गते यूएईसँग दोस्रो राउन्डको भिडन्त हुनेछ ।
शीर्ष २ टिमले फाइनल खेल्ने छन् । फाइनल खेल १० गते हुनेछ ।
नेपाली टोली :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सुर्य तामाङ र श्याम (मौसम) ढकाल ।
Comments