बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत बिहान ११ बजेर २९ मिनेटमा

नेपालीहरुको महान चाड बडा दशैँ सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज आइतबार घर घरमा जमरा राखिँदैछ ।

जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थपना गर्ने साइत बिहान ११ बजेर २९ मिनेटमा परेको छ ।

यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

Comments

Back to top