मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन
शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट निलम्बन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ ।
मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो ।
यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो । तीन महिनाको अवधिमा दुई पटक दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि हाल ऊसँग हेलिकप्टर नै बाँकी छैन । सूचना अधिकारी भुलका अनुसार मनाङ एयरले अर्को हेलिकप्टर ल्याए पनि तत्काल उडान सञ्चालन गर्न पाउने छैन ।
Comments