कोशी प्रदेशको मुख्यमन्त्रीबारे आज निर्णय हुँदै, राप्रपा तटस्थ बस्ने
कोशी प्रदेशको मुख्यमन्त्रीबारे प्रदेश प्रमुख परशुराम खापुङले आज निर्णय गर्दैछन् ।
मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ्गले कानूनी परामर्शका आधारमा निर्णय लिने जनाएका छन् । संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न उनले दिएको समय सीमा आज साँझ ५ बजेबाट सकिँदैछ ।
सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् ।
तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेका छन् ।
कार्कीले आफूसहित कांग्रेसका ९ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ। आज बसेको पदाधिकारी बैठकले पार्टीको समर्थन कसैलाई पनि आवश्यक नपरेकाले अहिले कसैको पक्ष नलिने निर्णय गरेको हो ।
Comments