भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमणबारे सांसदले उठाए प्रश्न

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणबारे सरकारको जवाफ माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठकमा आकस्मिक समय लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेकोबारे प्रश्न गरेका हुन् । नेपालको संसदले पास गरेको नयाँ नक्सामा कुटी गुञ्जी समेत रहेको भन्दै उनले भने, ‘छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ ।’

यसबारे प्रमुख जिल्ला अधिकारीसँग बुझ्दा त्यो भूभागमा नेपालीहरु जान नपाउने जवाफ पाएको उनले सुनाए । पूर्वमन्त्री समेत रहेका लामिछानेले भने, ‘आफ्नो भूमिमा छिमेकी राष्ट्रको सरकार प्रमुख आउँदा सरकारले स्वागत गर्नु पर्दैन ?’

उनले नेपाली भूमिमा भएको भारतीय प्रधानमन्त्रीको भ्रमणबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे ।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद सूर्य थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमिमा आएकोबारे सरकारसँग जवाफ माग गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै थापाले भारतीय प्रधानमन्त्री मोदीले नेपालको भूमिमा आएकोबारे सरकारसँग जवाफ मागेका हुन् ।

‘नेपाली भूमिभित्र छिमेकी देश भारतका प्रधानमन्त्री मोदीले भ्रमण गरेको सत्य हो होइन ?, ’ उनले प्रश्न गरे। सांसद थापाले भारतीय प्रधानमन्त्री मोदी नेपालको भूमिमा आएकोबारे सदन बेखबर बस्न नमिल्ने भन्दै सदनलाई जानकारी गराउन माग पनि गरे ।

Comments

Back to top