राष्ट्रपति पौडेललाई आज जनकपुरधाममा नागरिक अभिनन्दन गरिने

राष्ट्रपति रामचन्द्र पौडेलको आज जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दनको सम्पूर्ण तयारी पुरा भएको छ ।

जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा दिउँसो १ बजे जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिने नगर प्रमुख मनोज कुमार साहले जानकारी दिए। कार्यक्रममा नागरिक अभिनन्दन पत्रका साथै राष्ट्रपतिलाई उपहार प्रदान गर्ने कार्यक्रम रहेको साहले बताए ।

नागरिक अभिनन्दनअघि राष्ट्रपति पौडेलले सांस्कृतिक भवनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रवेशका लागि १ हजार जनालाई उपमहानगरपालिकाले विशेष पासको व्यवस्था गरेको छ ।

बिहान नेपाली सेनाको विशेष विमानबाट जनकपुरधाम विमान स्थलमा अवतरण गर्नु भएपछि राष्ट्रपति पौडेलले जानकी मन्दिरमा विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

राष्ट्रपति पौडेल आज नै राजधानी फिर्ता हुने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

Comments

Back to top