चिनियाँ लगानी बढाउन दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने

नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणको लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) ले संयुक्त रूपमा बेइजिङमा आयोजना गरेको ‘नेपाल चीन बिजनेस समिट’मा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त धारणा राखेका हुन्।

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए।

उनले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे। नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताए।

प्रधानमन्त्री प्रचण्डले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै उनले त्यसका लागि वातावरण बनाउने बताए।

Comments

Back to top