उत्कृष्ट उपन्यासकार, कथाकार तथा प्रेरक व्यक्तित्त्व म्याक्सिम गोर्की

गोर्कीको जन्म तत्कालीन रुसको निझ्नी नोभ्गोरोदमा सन् १८६८ मार्च २८ मा गरिब परिवारमा भयो । त्यतिखेर रुसमा जमिनदारहरू दुःख नगरी खेतीको सारा आम्दानी थुपार्थे । किसान र मजदुरलाई कठोर श्रम गर्दा पनि खान पुग्दैनथ्यो । 

गोर्कीको खास नाम आलेक्सेई म्याक्सिमोभिच पेस्कोभ हो । लेखक भएपछि उनी म्याक्सिम गोर्की नामले प्रसिद्ध भए । रुसी भाषामा गोर्कीको अर्थ हो, दुःखी । त्यो नाम उनले आफ्नै भोगाइबाट प्रेरित भएर राखेका थिए । गोर्की चार वर्ष हुँदा उनका सिकर्मी पिता म्याक्सिम सेबातेभिचको मृत्यु भयो । त्यसपछि उनी आमापट्टिकी हजुरआमा अकुलिना कासिरिनसँग बसे।

हजुर आमाले सुनाउने दन्त्य, परी कथा र कविता गोर्की रुचिपूर्वक सुन्थे । तिनैले उनलाई दुःखसँग जुध्ने प्रेरणा दिए । गोर्की सात वर्ष हुँदा आमा भार्भाराले दोस्रो बिहे गरिन् । सौतेलो पिता निर्दयी थिए । भुइँमा पछारेर गर्भवती भार्भारालाई छातीमा बुटले लात्ती हिर्काउँथे । घर चलाउन उनले हाडका टुक्रा, थोत्रा कपडा, फलामका कबाडी बटुले । यसकै कारण स्कुलका साथीहरू उनलाई झुत्रे, मगन्ते भनेर हेप्थे । उनी १० वर्षको हुँदा आमा पनि सुकेनासले बितिन् । अनि हजुरबाले उनलाई घरबाट निकालिदिए । गरिबीले स्कुल छुटे पनि गोर्कीलाई लेखपढमा गहिरो रुचि थियो । 

उनलाई हाकिमले मन पराएको देख्दा सहकर्मीहरू ईर्स्या गर्थे । एक दिन तिनले गोर्कीलाई चोरीको झुटो आरोप पनि लगाए । उनलाई कामबाट निकालियो । छुट्टिँदा स्मुरीले भने, “यो खराब मानिसको ठाउँ हो । हरेक काम सिक्न कोसिस गर । आँखा खुला राख । केही नबोल । सिर्फ पढ । पुस्तकहरू मानिसका सबैभन्दा असल साथी हुन् ।” 

स्मुरीको यही वचन उनको प्रेरणाको सूत्र बन्यो । उनले मौका पाउँदा लेखपढ गर्न भने छाेडेनन् । एउटी युवतीले उनलाई रुसी लेखकका किताब उपहार दिइन् । यी किताब पढेर उनले आफ्नै देशवासीको जीवनबारे बुझ्न पाए । गोर्कीले कथा, कविता पनि लेख्न थाले । उनी आफ्ना कथा, कविता विभिन्न पत्रिकामा पठाउँथे । सम्पादकहरू उनका रचना नपढी मिल्काइदिन्थे । 

अलेक्जेन्डर कास्युनीले उनको कथा प्रसिद्ध पत्रिकामा छपाइदिए । त्यो कथा सबैले रुचाए । कथाको शीर्षक थियो, ‘मकार चुद्रा’ । रुसका ठूला लेखक भ्लादिमिर कोरोलेङ्कोसँग भेट भएपछि लेखन शैली सुधार्न गोर्कीलाई धेरै सहयोग गरे । उनैले गोर्कीका रचना रुसको प्रसिद्ध पत्रिकाहरूमा छपाइदिए । उनका रचना पहिला रुसभरि प्रसिद्ध भए । बिस्तारै ती विश्वप्रसिद्ध भए । पछि उनी पाँचपल्टसम्म नोबेल पुरस्कारका लागि मनोनीत भए । 

गोर्की संसारकै उत्कृष्ट उपन्यासकार, कथाकार र नाटककार मानिनन्छन् । सन् १९०७ मा प्रकाशित ‘आमा’ उनको सबैभन्दा प्रसिद्ध उपन्यास हो । ‘निकृष्ट खाल्डो’ उनको विश्वप्रसिद्ध नाटक हो । मानवताका पक्षमा निरन्तर आवाज उठाए ।

दुःखसँग हार नखाने र लेखपढ गर्ने उत्कट इच्छाले नै उनी विश्वप्रसिद्ध लेखक बने । सन् १९३६ जुन १८ मा उनको निधन भयो तर महान् लेखकका रूपमा उनी सधैँ जीवित रहनेछन् । 

Comments

Back to top