खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभएमा व्यापार प्रतिबन्ध लगाउने विचारमा युक्रेन

युरोपेली सङ्घ (ईयू) का तीन सदस्य राष्ट्रले आफ्नो खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभएमा उनीहरूमाथि व्यापार प्रतिबन्ध लगाउने विचार गरिरहेको युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले बताएका छन् । 

“पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले युरोपेली आयोगसँग वार्ता गरेका उपायहरूमा सहमत नभएसम्म युक्रेनले पारस्परिक व्यापार प्रतिबन्धहरू लगाउनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले भनेको छ । 

युक्रेनबाट खाद्यान्न आपूर्तिमा प्रतिबन्ध लगाउने छिमेकी देशहरूको घोषणालाई युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षालाई असर पार्ने निर्णयका रूपमा उनले वर्णन गरे । 

युरोपेली आयोगले गत साता बुल्गेरिया, रोमानिया, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियामा युक्रेनी कृषि उत्पादनमा लगाइएको प्रतिबन्ध नबढाउने निर्णय गरेको बताएको थियो । आयोगको निर्णयको बावजुद पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् ।

Comments

Back to top