काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा शुरु, रत्नपार्कबाट सूर्यविनायक ४५ मिनेटमै पुगिने
सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् ।
द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ । बुधबार उदघाटन भए पनि आज बिहिबारदेखि मात्र सर्वसाधारण यात्रुको सेवामा द्रुत सेवाका बस चल्ने छन्।
यातायात मन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयर र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका कर्मचारीहरु बस चढेर यात्रा गरेका छन् ।
द्रुत बसलाई जाम छल्न सजिलो हुने गरि माइतीघर, कोटेश्वर, जडिबुटी रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने बताएको छ । यस्तै द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।
रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लिने यातायात व्यवस्था विभागले जनाएको छ ।
व्यवसायीहरुसँग सहकार्य गरी उनीहरुकै बसहरु सञ्चालन गर्न लागिएको हो । करिब ३८ जना क्षमता रहेको २५ वटा बस सञ्चालनमा आउनेछन् ।
बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि द्रुत बस सेवाको अवधारणा ल्याइएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
‘द्रुत बस सेवा’ बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।
Comments