ब्ल्याक सी ग्रेन डिल रद्द भएपछि पहिलो पटक युक्रेनबाट २० हजार टन गहुँ इजिप्ट र इजरायल पुर्‍याइँदै

रसिया ब्ल्याक सी ग्रेन डिलबाट पछि हटेपछि पहिलोपटक दुईवटा कार्गो पानीजहाज युक्रेनको बन्दरगाहमा पुगेको छ। ब्ल्याक सीकै नयाँ ‘रुट’ बाट पानीजहाज बन्दरगाह पुगेको हो।

सो कार्गो पानी जहाजमा २० हजार टन गहुँ ‘लोड’ हुने र विश्व बजारमा बिक्रीका लागि पठाइने जनाइएको छ।

युक्रेनी अधिकारीहरुका अनुसार सो कार्गोले इजिप्ट र इजरायलमा गहुँ पुर्‍याउनेछ।

रसिया र युक्रेनबीच युद्ध भएको २७१ दिन पुगिसकेको छ। तर युद्ध रोकिने सम्भावना अहिले नै न्यून रहँदा युक्रेनबाट गहुँ निर्यात रोकिँदा विश्वभर खाद्य संकट हुने विज्ञहरुले बताएका थिए। रसियाले डिलबाट पछि हटेपछि टर्कीए र अफ्रिकी देशहरुले रसियालाई डिलमा फर्किन आग्रह गरेका थिए।  

युद्ध सुरु हुनुअघि युक्रेन विश्वमा गहुँ निर्यात गर्ने पाँचौ ठूलो देश थियो। विश्वभर १० प्रतिशत गहुँ युक्रेनबाट निर्यात हुन्थ्यो। यस्तै, जौ, मकै र रेपसिड तेल निर्यात गर्ने युक्रेन तेस्रो ठूलो देश थियो। विश्वभर ४६ प्रतिशत सूर्यमुखी तेलको निर्यात पनि युक्रेनबाट हुन्थ्यो।

Comments

Back to top