‘रकेट वुमन’ रितु करिधलः चन्द्रयान- ३ सफल बनाउने भारतीय महिला वैज्ञानिक

भारतको चन्द्रयान–३ ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक सफ्ट ल्याण्ड गरेर इतिहास रचेको छ ।

यसपटक चन्द्रयान–३ को सफल अवतरणको जिम्मेवारी महिला वैज्ञानिकको हातमा थियो । चन्द्रयानको यो मिसनसँगै यसमा संलग्न महिला वैज्ञानिकहरुको पनि चर्चा सुरु भएको छ । इसरो वैज्ञानिक डा. रितु करिधल चन्द्रयान–३ को मिसन निर्देशक हुन्।

लामो समयदेखि महिलामाझ चर्चाको विषय भए पनि देशको यो महत्वपूर्ण मिसनको जिम्मेवारी पाएपछि उनको निकै चर्चा भइरहेको छ । यसअघि करिधल मंगलयान मिशनको उपसञ्चालन निर्देशक भइसकेकी छन् ।

रितु करिधल पढाइका क्रममा अन्तरिक्षमा निकै चासो राख्थिन् । त्यही भएर उनले यसमा आफ्नो भविष्य खोज्ने प्रयास गरिन् र आज उनी सफलताको उचाइमा छिन् ।

रितु करिधलले लखनउबाट भौतिकशास्त्रमा एमएससी गरिन् । यसपछि बैंगलोरको भारतीय विज्ञान संस्थानमा उनले अन्तरिक्ष विज्ञानमा स्नातकोत्तर गरिन्। रितुको प्रतिभा देखेर उनले इसरोमा जागिर पाइन् । यस पछि यी युवा वैज्ञानिकले धेरै उपलब्धि हासिल गरिन् र सन् २००७ मा उनले युवा वैज्ञानिक पुरस्कार पनि प्राप्त गरिन् ।

सानै उमेरमा उनको क्षमता र उपलब्धिले उनलाई ठूलो वैज्ञानिक बनायो। यसपछि उनले देशका सबै ठूला अन्तरिक्ष अभियानहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन् । त्यसैले उनलाई भारतको रकेट वुमन पनि भनिन्छ ।

असार २९ गते प्रक्षेपण गरिएको चन्द्रयान–३ को महत्वपूर्ण जिम्मेवारी उनको हातमा सुम्पिएको थियो । जसमा देश र विश्वभरका करोडौँ जनताको नजर टिकेका थिए । भारतले लामो समयदेखि चन्द्रयानलाई चन्द्रमामा सफल अवतरणका लागि प्रयास गरिरहेको थियो। भारतको यो तेस्रो चन्द्र अभियानमा पनि अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमाको सतहमा ल्यान्डरको ‘सफ्ट ल्यान्डिङ’ गर्ने लक्ष्य राखेका थिए जुन सफल भएको छ ।

यससँगै दक्षिण एसियाली मुलुक भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ । अमेरिका, रुस र चीनपछि भारतले चन्द्रमामा सफल अवतरण गरेको छ । जवकि कठिन मानिने चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्ने देश पनि भारत नै बनेको छ ।

Comments

Back to top