युरोपेली केन्द्रीय बैङ्कले फेरि बढायो ब्याजदर

युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्‍याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । 

नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौथाइ बिन्दुले बढाएका छन् । सबैको चासोका रूपमा हेरिएको निक्षेप दरलाई चार प्रतिशतमा पुर्‍याएर सन् १९९९ मा यूरोको सुरुवात पछिको यो वृद्धि उच्चतम स्तरमा पुर्‍याइएको हो । 

रूसले युक्रेनमा आक्रमण गरेका कारण ऊर्जा र खाद्यान्नको लागतमा वृद्धि भएपछि गत वर्षको जुलाईमा केन्द्रीय बैंकले आफ्नो इतिहासकै सबैभन्दा आक्रामक ब्याजदर वृद्धि चक्र सुरु गरेको र यो लगातार १० औं वृद्धि हो । 

युरोको प्रयोग गर्ने २० देशहरूमा तीव्र रुपमा बिग्रदै गएको आर्थिक परिदृश्यको बढ्दो सङ्केतको बावजुद बैङ्कले अर्को वृद्धिको घोषणा गरेको छ । 
तर, ईसीबीले मुद्रास्फीति अझै पनि ‘धेरै लामो समयसम्म निकै उच्च रहने अपेक्षा गरिएको’ दोहोर्‍याएको छ । बैङ्कले उधारो लागत उच्च स्तरमा पुगेकोले मूल्य वृद्धिलाई छोटो समयमै दुई प्रतिशतको लक्ष्यमा ल्याउन मद्दत गर्ने पनि बताएको छ । 

ब्याजदरको निर्णयको घोषणा पछि ईसीबी अध्यक्ष क्रिस्टीन लेगार्डले भने, “दरहरू अब उच्च स्तरहरूमा पुगेका छन् जसले बढ्दो मूल्यहरू तत्काल नियन्त्रण गर्न ‘पर्याप्त योगदान’ गर्नेछ । 

आर्थिक विश्लेषकहरूले यो भाषाले ब्याजदर वृद्धिको हालको लय समाप्त हुँदै गएको सङ्केत गरेको विश्वास गरेका छन् ।

Comments

Back to top