लिबियामा ड्याम विस्फोट पछिको बाढीमा मृत्यु हुनेको संख्या ५३०० पुग्यो
लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ। ड्रेना शहरमा आएको बाढीका कारण हालसम्म ५ हजार ३०० जनाको मृत्यु भइसकेको लिबियाका अधिकारीहरुले बताएका हुन्।
सो विपदमा अझै १० हजार मानिस बेपत्ता रहेका छन्। खोला किनारमा शवहरु भेटिने क्रम जारी रहेकोले मृतकको संख्या थप बढ्ने बताइएको छ। बेपत्ताहरुको खोजी कार्यमा उद्धार टोली खटिरहेको छ।
ड्रेना शहरका मेयर अब्दुमेनम अल घातीले मृतकको संख्या १८ हजारदेखि २० हजार पुग्न सक्ने बताएका छन्।
अहिले लिबियाका अस्पतालहरु शवले भरिएका छन्। लिबियाका चिकित्सकहरुले अवस्था निकै गम्भीर रहेको भन्दै थप स्वास्थ्य सहयोग आवश्यक रहेको बताएका छन्। फरेन्सिक र उद्धार टोलीको पनि थप आवश्यकता रहेको अधिकारीहरुले बताएका छन्।
लिबिया सरकारले विश्व समुदायबाट सहयोग लिन गर्न तयार रहेको जनाइसकेको छ। विभिन्न देशले लिबियामा उद्धार टोलीका साथै राहत पठाइरहेको छ। बाढीका कारण सयौं घर क्षतिग्रस्त हुँदा अर्बौंको पूर्वाधार नष्ट भएको छ।
Comments