युरो क्षेत्रको आर्थिक वृद्धि ०.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण

युरोपेली आयोगले सन् २०२३/२०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।

युरोपेली सङ्घ (ईयू)को कार्यकारी प्रशासनिक निकायसमेत रहेको आयोगले सन् २०२३ मा जर्मनीको अर्थतन्त्र ०.४ प्रतिशतले खुम्चिने अनुमान गरेको छ । जर्मनीले आफ्नो विशाल औद्योगिक क्षेत्रमा मन्दीको सामना गरिरहेको छ र निर्यातमा कमजोर प्रदर्शनको सामना गरिरहेको छ । यी दुवै अवस्थाले समग्र अर्थव्यवस्थामा महत्वपूर्ण प्रभाव पार्छ ।

युक्रेनमा जारी युद्धका कारण उत्पन्न ‘आर्थिक व्यवधान’लाई इङ्गित गर्दै युरोपेली सङ्घका अर्थतन्त्र आयुक्त पाओलो जेन्टिलोनीले भने, 'यस वर्ष हाम्रो अर्थतन्त्रले सामना गर्नुपरेका विभिन्न समस्याले वसन्तऋतुमा हामीले अनुमान गरेभन्दा कमजोर आर्थिक वृद्धिको गति निम्त्याएको छ ।' सन् २०२३ का लागि २७ राष्ट्रसम्मिलित ईयूको आर्थिक वृद्धिदरको अनुमानलाई पनि घटाएर ०.८ प्रतिशतमा झारिएको छ।

Comments

Back to top