क्यालिफोर्नियामा एप्पलको नयाँ ‘आइफोन १५’ सार्वजनिक हुँदै

मंगलबार अर्थात सेप्टेम्बर १२ मा एप्पलको नयाँ ‘आइफोन १५’ सार्वजनिक हुँदै छ । मंगलबार हुने एप्पलको कार्यक्रम वन्डर लस्टमा फोनलाई सार्वजनिक गरिनेछ । उक्त कार्यक्रम अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टिभ जब्स थिएटरमा हुँदै छ।

विभिन्न रिपोर्टहरुका अनुसार आईफोन १५ र आईफोन १५ प्रो सार्वजनिक हुनेछन् । कम सुविधा र क्षमतामा आईफोन १५ र आईफोन १५ प्लस हुनेछन् भने केही विशेष क्षमता र सुविधासहितमा भने आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स हुनेछन् । आईफोन १५ प्रोको डिस्प्ले ६.१ इञ्चको हुनेछ भने आईफोन १५ प्रो म्याक्सको डिस्प्ले ६.७ इञ्चको हुनेछ।

आईफोन १५ को रेञ्जका फोनहरुमा अपग्रेड गरिएको माइक्रोचिप ए १७ बोयोनिक हुनेछ । यसअघिको फोनहरु स्टेनलेस स्टिलको फ्रेममा तयार गरिएकोमा एप्पले यसपटक भने टाइटेनियम फ्रेम प्रयोग गरेको ब्लुमबर्गले जनाएको छ । यसले फोनलाई केही हलुका बनाएता पनि फोनको मूल्य भने केही बृद्धि हुने देखिएको छ ।

विभिन्न दाबीहरुका अनुसार आइफोन १५ को सुरुवाती मूल्य ७ सय ९९ अमेरिकी डलर हुनेछ । १५ प्लसको ९९९, प्रोको १०९९ र अर्ट्राको १२९९ अमेरिकी डलर पर्नसक्ने पूर्वानुमानहरु सार्वजनिक भएका छन् ।

Comments

Back to top