श्रीलंकामा छ महिनामा तीन अर्ब ८० करोड रेमिट्यान्स भित्रियो

श्रीलंकाले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड रेमिट्यान्स भित्रिएकोे जनाएको छ । चालू वर्ष २०२३ को अगस्टसम्म विदेशमा श्रम गरिरहेका कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भित्र्याएको श्रम तथा वैदेशिक रोजगार मन्त्रालयले जनाएको छ । यो रेमिट्यान्स गतवर्षकोे सोही अवधिको तुलनामा ७४ दशमलव चार प्रतिशत बढी हो ।

श्रम तथा वैदेशिक रोजगार मन्त्री मनुषा नानायककाराले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत रेमिट्यान्सको विवरण सार्वजनिक गरेका हुन् । उनले अगस्ट महिनामा मात्रै ५० करोड डलर रेमिट्यान्स भित्रिएको जनाएका छन् ।

श्रीलंकाको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्षको सेप्टेम्बरको सुरुसम्ममा दुई लाखभन्दा बढी श्रीलंकाली वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिएको मन्त्री नानायककाराले जानकारी दिए ।

सन् २०२१ मा श्रीलंकाका कामदारले कुल पाँच अर्ब ४९ करोड डलर पठाएका छन् भने सन् २०२२ मा करिब तीन अर्ब ८० करोड पठाएका थिए ।

Comments

Back to top