अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि

साउदी अरेबिया र रुसले सन् २०२३ को अन्त्यसम्म नै तेल उत्पादन कटौती गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको भाउ बढेको छ । ‘ओपेक प्लस’का यी दुई प्रमुख तेल निर्यातकर्ताले उत्पादन कटौती गरेपछि आपूर्तिमा संकुचन आउने अनुमानपछि तेलको भाउ बढेको हो ।

अगस्ट ४ यता ‘ब्रेन्ट क्रुड फ्युचर्स’को मूल्य प्रतिब्यारेल ८२ डलरबाट बढेर ९० डलरसम्म पुगेको छ । मंगलबार ब्रेन्ट क्रुड प्रतिब्यारेल ९० दशमलव शून्य ४ अमेरिकी डलर पुगेको थियो । बुधबार पनि सोही मूल्य हाराहारीमै कारोबार भएको छ । बुधबार सुरुवाती चरणमा केही मूल्य घटे पनि साँझसम्म फेरि बढ्ने संकेत देखिएको थियो ।

बुधबार कायम मूल्य १० महिनायताकै उच्च हो । यसअघि सन् २०२२ नोभेम्बर १७ मा ब्रेन्ट क्रुड फ्युचर्सकोे मूल्य प्रतिब्यारेल ९२ डलरबाट ८९ डलरमा झरेको थियो ।

लगानीकर्ताले साउदी अरेबिया र रुसले अक्टोबरसम्म मात्रै उत्पादन कटौती गर्ने अनुमान गरेका थिए । तर दुवै मुलुकले डिसेम्बरसम्म नै उत्पादन कटौती गर्ने निर्णय गरेपछि आपूर्तिमा चाप पर्नजाने भयले मूल्य बढेको देखिन्छ ।

Comments

Back to top