भारतीय केन्द्रीय बैंकका गभर्नर विश्वकै उत्कृष्ट गभर्नरको सूचीमा
भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नरको सूचीमा परेका छन् । अमेरिकाको ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’मा आरबीआई गभर्नर दासलाई ‘ए प्लस’ ग्रेडिङ प्रदान गरेको हो ।
भारतसँगै स्विट्जरल्यान्ड र भियतनामका गभर्नरले पनि ‘ए प्लस’ ग्रेड पाएका छन् । तीनवटै केन्द्रीय बैंकका गभर्नरहरूको सूचीमा दासलाई पहिलो स्थानमा राखेको आरबीआईले जनाएको छ । दासपछि स्विट्जरल्यान्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामको केन्द्रीय बैंकका गभर्नर गुएन थि होङ छन् ।
ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । सो पत्रिकाले विश्वका एक सय एक देश र क्षेत्रका केन्द्रीय बैंकहरूका गभर्नरलाई ग्रेड दिँदै आएको छ । पत्रिकाले मुद्रास्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता, ब्याजदरलगायतका विषय मापन गरी ग्रेड प्रदान गर्दै आएको छ । पत्रिकाका अनुसार ग्रेड ‘ए’ले उत्कृष्ट कार्यसम्पादन र ‘एफ’ले पूर्ण असफलतालाई जनाउँछ ।
Comments