दक्षिण अफ्रिका र भारत जान नचाहेका रुसी राष्ट्रपति पुटिन चीन जान भने तयार
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि उनी हालसम्म कुनै देश भ्रमणका लागि गएका छैनन् ।उनी हालै दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सम्पन्न ब्रिक्स सम्मेलनमा उपस्थित भएनन् भने भारतमा आगामी महिना आयोजना हुने जी-२० सम्मेलनमा पुटिन सहभागी नहुने रुसको सरकारले बताइसकेको छ । तर, पुटिन अक्टोबरमा आयोजना हुने बेल्ट एन्ड रोड इनिसियटिभ बीआरआईको कार्यक्रममा भाग लिन चीन भने जाने भएका छन् ।
ब्लुमबर्गको रिपोर्टअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई बीआरआई फोरमका लागि निम्तो दिएका छन् ।रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार पुटिनको चीन भ्रमणको तयारी भइरहेको छ । उनी भन्छन्, ‘चीन र रुसबीच धेरै विषयमा द्विपक्षीय छलफलबारे योजना बनिरहेको छ। यसबारे समय तोकिएपछि जानकारी दिनेछौँ ।’
वास्तवमा गत मार्च १७ मा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गिरफ्तार हुने त्रासकै कारण पुटिन दक्षिण अफ्रिका गएका थिएनन् । किनभने दक्षिण अफ्रिका आईसीसीमा आवद्ध राष्ट्र हो। पक्राउ पुर्जी जारी गरिएका व्यक्तिलाई गिरफ्तार गर्नु आईसीसी राष्ट्रको कर्तव्य मानिन्छ ।
तर, भारत आईसीसीको सदस्य राष्ट्र होइन । त्यहाँ आईसीसीको आदेशको पालना हुँदैन । रुसले पुटिन व्यस्त भएकाले जी-२० सम्मेलनमा आउन नसक्ने बताएको छ । जी-२० समूहमा अमेरिका, जर्मनी, फ्रान्स, बेलायतजस्ता नेटो राष्ट्र पनि आबद्ध छन् । यी राष्ट्रहरूले जी-२० सम्मेलनमा रुस र युक्रेन युद्धबारे पनि चर्चा गर्ने अनुमान छ ।
Comments