भारतले खाना पकाउने ग्यासको मूल्य घटायो

भारतले खाना पकाउने ग्यासको मूल्यमा दुई सय रुपैयाँ कटौती गरेको छ । केन्द्र सरकारले भारतभरका घरपरिवारलाई राहत दिने उद्देश्यले खाना पकाउने ग्यासको मूल्य कटौती गरेको हो ।

केन्द्रीय मन्त्रिपरिषद्को निर्णयबारे पत्रकारहरूलाई जानकारी दिँदै सूचना तथा प्रसारण मन्त्री अनुराग सिंह ठाकुरले यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले ओणम र रक्षाबन्धनमा देशका महिलाहरूलाई उपहार दिएको बताएका छन् ।

केन्द्र सरकरको यो निर्णय बुधबारदेखि नै लागू भएको छ । १४ दशमलव दुई केजीको ग्यास सिलिन्डरको मूल्य देशभर दुई सय रुपैयाँले घटेको छ । यो निर्णयपछि ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार एक सय तीन रुपैयाँबाट घटेर नौ सय तीन रुपैयाँमा झरेको छ ।

उज्ज्वला परिवारले भने प्रतिसिलिन्डर दुई सय रुपैयाँको विद्यमान लक्षित अनुदानको अतिरिक्त हो । जसअनुसार उज्ज्वला लाभग्राहीले प्रतिसिलिन्डर सात सय तीन रुपैयाँमा ग्यास पाउनेछन् । भारतमा करिब नौ करोड ६० लाख उज्ज्वला परिवार एलपीजी ग्यासको उपभोक्ता छन् ।

 

Comments

Back to top