सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेको छ । बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए ।
गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक-पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।
यस प्रकरणमा पूर्व सभामुख तथा पूर्वमन्त्री महराको समेत नाम जोडिएको छ । दावासँग उनको पनि पटक-पटक टेलिफोन सम्पर्क भएको देखिएको छ । तर, उनी अझै पक्राउ परेका छैनन् ।
Comments