इराकमा तीन जनालाई फाँसी

इराकको राजधानी बग्दादमा सन् २०१६ मा ३०० भन्दा बढीको ज्यान जाने गरी भएको सवारी बम विस्फोटमा संलग्न भएको आरोपमा तीन जनालाई फाँसी दिइएको छ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इराकमा भएको यो अहिलेसम्मकै सबैभन्दा घातक बम आक्रमण हो। द इस्लामिक स्टेट ग्रुप (आइएस) ले उक्त आक्रमण आफूले गरेको जानकारी दिएको छ।

प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरूको नाम र उनीहरूलाई कहिले–कहिले सजाय दिइएको हो भन्नेबारे उल्लेख गरेको छैन। यद्यपि उनीहरूलाई आइतबार र सोमबार मृत्युदण्ड दिइएको विवरणहरू सार्वजनिक भएका छन्।

एक सरकारी स्रोतले एएफपी समाचार संस्थालाई दिएको जानकारीअनुसार आक्रमणका मुख्य योजनाकार मानिएका गजवान अल–जावबाईलाई मृत्युदण्ड दिइएको छ। जावबाईलाई सन् २०२१ मा अन्यत्रबाट पक्राउ गरी इराक फर्काइएको थियो।

प्रधानमन्त्रीले “आतङ्ककारी बम विस्फोटमा संलग्न भनिएका तीन जना मुख्य अपराधीलाई मृत्युदण्डको उचित सजाय दिइएको” जानकारी पीडित परिवारलाई गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सन् २०१६ को ३ जुलाईमा इराकी राजधानीस्थित शिया मुस्लिम बहुल क्षेत्र कर्राडामा उक्त घटना भएको हो। त्यहाँ रहेको एक शपिङ सेन्टर भिडभाड भएको स्थितिमा नजिकै रहेको विस्फोटक पदार्थले भरिएको एउटा गाडी विस्फोट गराइएको थियो।

Comments

Back to top