भूमध्यसागरमा सङ्कटपूर्ण अवस्थामा रहेका २३ देशका झण्डै साढे चार सय जना आप्रवासीको फ्रान्सद्वारा उद्धार

फ्रान्सको एक गैरसरकारी संस्थाले भूमध्यसागरमा सङ्कटपूर्ण अवस्थामा रहेका चार सय ३८ जना आप्रवासीको उद्धार गरेको छ ।

उद्धार संस्थाले जहाज ओशन वाइकिङमार्फत् बितेका दुई दिनमा २३ वटा देशका आप्रवासीलाई उद्धार गरेको एएफपीले जनाएको छ । उनीहरुलाई लिबिया र ट्युनिसियाको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट उद्धार गरेको उद्धार गर्ने संस्था एसओएस मेडिटरेनीले जनाएको छ । उद्धार गरिएको जलक्षेत्र आप्रवासीहरूका लागि विश्वको सबैभन्दा खतरनाक सामुद्रिक मार्ग हो ।

यो मार्ग हुँदै आप्रवासीहरु युरोपका देश जाने गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसनका अनुसार यस वर्ष मध्य भूमध्यसागर पार गर्ने प्रयासमा कम्तीमा दुई हजार १३ जनाको ज्यान गएको छ । त्यस मागमा अघिल्लो वर्ष एक हजार चार सय १७ जना आप्रवासीले ज्यान गुमाएका थिए ।  

Comments

Back to top