चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा क्षेत्रको तनाव घटाउने सहमति
चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत भएका छन् ।
विकासशील राष्ट्रहरूको समूह 'ब्रिक्स' शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका दुई नेताबीच एक्लाएक्लै भएको भेटमा सीमा विवाद घटाउने सहमति भएकाे बीबीसी हिन्दीले जनाएको छ। भारतीय प्रधानमन्त्रीको अनुरोधमा चिनियाँ राष्ट्रपति सीले भेटावार्ता गरेको चिनियाँ पक्षले जनाएको छ ।
सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध बिग्रिएको छ । दुई शक्ति सम्पन्न देश चीन र भारतबीच हिमाली क्षेत्र रहेको तीन हजार चार सय ४० किलोमिटर लामो सीमामा अस्पष्टता छ । त्यसलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) भनिन्छ ।
दुई नेताबीचको भेटमा एलएसीबाट सैनिकहरू हटाउने सहमति भएको भारतका विदेश सचिव विनयमोहन क्वात्रालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति निकालेर सीमाबारेमा विस्तृतमा छलफल भएको र यो छलफलले समस्या समाधानमा स्पष्ट भूमिका खेल्ने बताएको छ ।
Comments