युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ इथियोपियाली नागरिकको गोली हानेर हत्या
मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचको नयाँ प्रतिवेदनमा साउदी सीमारक्षकहरूले यमनसँग सीमा जोडिएको क्षेत्रमा कैयौँ आप्रवासीहरूको सामूहिक हत्या गरेको आरोप लगाइएको छ।
उक्त प्रतिवेदनमा युद्धग्रस्त यमन हुँदै साउदी अरब जान खोज्ने सयौँ मानिसलाई गोली हानेर हत्या गरिएको उल्लेख छ। साउदी सीमारक्षकहरूद्वारा मारिएका भनिएका आप्रवासीमध्ये अधिकांश इथियोपियाली नागरिक भएको बताइएको छ।
आप्रवासीहरूले गोली लागेर आफ्नो अङ्गभङ्ग भएको र आफूहरूले बाटोमा शवहरू देखेको बीबीसीलाई बताएका छन्। साउदी अरबले यसअघि नियोजित हत्याको आरोप अस्वीकार गरेको थियो।
ह्ययूमन राइट्स वाचको प्रतिवेदनमा आप्रवासीहरूले सुनाएको बीभत्स वर्णन समावेश छ। उनीहरूले साउदी प्रहरी तथा सैनिकहरूले साउदी अरब र यमनबीचको अप्ठ्यारो सीमामा आफूहरूमाथि गोली प्रहार गरेको र ‘विस्फोटक अस्त्र’ ताकेको बताएका छन्। आप्रवासीहरूले पनि रातको समयमा सीमा पार गर्दाको अत्यासलाग्दो अवस्था वर्णन गरेका छन्।
उनीहरूका अनुसार महिला र बालबालिकासहित साउदी अरब प्रवेश गर्ने इथियोपियालीहरूको ठूलो समूहमा गोली प्रहार भएको थियो।
Comments