रुसी विद्रोही बाग्नर प्रमुखको निजी विमान दुर्घटनामा मृत्यु
रुसको राजधानी मास्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन् ।
यसअघि सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए । मास्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ ।
रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ ।
उही समयमा सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिरहेको छ ।
Comments