नेपालकी पहिलो महिला टेम्पो ड्राइभर ‘लक्ष्मी शर्मा’ – द बटन लेडी
लक्ष्मी शर्मा उद्यमी र नेपालको पहिलो महिला टेम्पो ड्राइभरको रुपमा चिनिन्छिन् । त्यति मात्रै नभई उनलाई “द बटन लेडी” भनेर पनि चिनिन्छ । उनी हाडको शिल्पकारको रुपमा काम गर्छिन् र बटन उत्पादन गर्छिन् तर आफ्नो करियर सुरुवात भने उनले टेम्पो ड्राइभरको रुपमा गरेकी हुन् जब सडकमा पुरुषहरुको शासन थियो ।
लक्ष्मी शर्माको सफतलाको कथा निकै प्रेरणादायी छ। महिला टेम्पो ड्राइभरको रुपमा नेपाल भरी प्रचलित लक्ष्मीले यहाँ सम्मको यात्रा तय गर्नको लागि निकै संघर्ष गर्नु परेको थियो । लक्ष्मीलाई ६ बर्षको उमेरमा नै त्रिभुवन सरकारको बहिनीको सुसारेको रुपमा काम गर्नको लागि लगिएको थियो । त्यतिबेला उनी प्राय महारानी सँग बस्ने गर्थिन् र दरबारको रहन सहन र त्यहाँ सिकेको बोलीचालीको कारणले पनि उनको बिजनेसमा सफलता मिलेको हो कि जस्तो उनलाई लाग्छ ।
रजस्वला हुनु भन्दा अगाडी नै छोरीको बिवाह भयो भने बुवाआमा स्वर्गमा पुग्छन् भन्ने मान्यता त्यतिबेला थियो जसको कारणले गर्दा लक्ष्मीको बिवाह १३ वर्षको उमेरमा नै भएको थियो । पहिलो छोरीको जन्म भएको ४ दिनमा लक्ष्मीसँग जिवन परिवर्तन हुने किसिमको घट्ना भएको थियो । अस्पतालमा सुत्केरी अवस्थामा हुँदा उनको श्रीमानको प्रेमिकाले उनीमाथी दुर्व्यवहार गरेकी थिइन् र त्यस दिनदेखि लक्ष्मीले श्रीमान माथि कुनै अपेक्षा राखिनन् । त्यस दिन आफुले आफुलाई नै खडा गर्नु पर्ने रहेछ भन्ने कुरा महसुस भएको उनी बताउँछिन् ।
त्यस दिन उनले आफ्नो जिवनको पहिलो सबै भन्दा कठिन निर्णय लिइन र श्रीमानलाई छोडिन् । त्यसपछि उनले विदेशीहरुको घरमा भाँडा भाझ्ने , सफा गर्ने, खाना बनाउने र बच्चाहरुको हेरचाह गर्ने काम गरिन् । त्यतिबेला उनको ध्यान सिर्फ आफ्नो बच्चाहरुको हेरचाह र पढाउनमा थियो । आफ्नो छाेरीको लागि भनेर उनले धेरै संघर्ष गरिन् । वि.सं १९७९ मा उनी भारतमा कोर्स गरेर फर्किँदा आफ्नो छोरीहरुको पढाई खर्च नभए पछि र आफन्तबाट सहयोग नपाउने महसुस भए पछि उनले छोरीहरु र आफुलाई आर्थिक रुपमा सक्षम बन्नको लागि प्रण लिएर टेम्पो चलाउन सुरुवत गरेकी थिइन् । त्यसक्रममा पनि उनले धेरै किसिमको कठिनाई र यातनाहरुको सामना गर्नु परेको थियो ।
किस्ताबन्दीमा फेरी दुइवटा टेम्पो किनेर उनले आफ्नो काम पुन गर्न थालिन् र ८, १० महिनाको बिचमा उनीसँग पाँचवटा टेम्पो भयो यसले लक्ष्मीलाई अझ हौसला र हिम्मत मिलेको थियो । बिस्तारै उनले टेम्पो बनाउने मेकानिकको काम पनि सिकिन् । पहिलो हुनको लागि टेम्पो चलाएको होइन लक्ष्मी भन्छिन् । त्यतिबेला पैसाको आवश्यकताको कारणले गर्दा उनी ड्राइभरको पेशामा लागेकी थिइन् । त्यसपछि उनी बनारस गएर काम सिकिन् र हस्ते हाडको उद्योग “लक्ष्मी वुड क्राफ्ट उद्योग” सुरु गरिन्। यहाँ हड्डीलाइ क्राफ्ट गरि बटन उत्पादन गर्ने काम हुन्छ ।
लक्ष्मीले विश्वभर बटन बनाएर नेपाली हस्तकला र कलालाई चिनाएकी छन् । यो बटन “राल्फ लोरेन” र “जारा जस्ता ठुला कम्पनीमा निर्यात हुन्छ । लक्ष्मीको कम्पनिले १५००० भन्दा बढि बटनको डिजाइन बनाएको छ । उनी आफ्नो समय धेरै जसो लाइब्रेरीमा बिताउँछिन् र युरोपियन आर्ट र क्राफ्टबारे सिक्छिन् । लक्ष्मी शर्मा “काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टरको” स्थापक र अध्याक्ष पनि हुन् ।
उनलाई वासिङ्गटन डि सी मा नेपालको उद्योगमा गरेको योगदानको लागि सम्मान पनि गरिएको थियो । लक्ष्मी शर्मा सुन्दर र साहासी महिला हुन् जसले युवा पुस्तालाई प्रेरित गरेकी छन् । उनी युवा पुस्तालाई नेपालको विकास गर्न सुझाब दिन्छिन् । लक्ष्मी भन्छिन् “ जिवनको यात्रामा भोगिने यातना र कठिनाईलाई प्रेरणामा बदल्ने कि हारमा यो हामीमा भर पर्छ ” ।
Comments