चीनमा ब्याजदर हालसम्मकै न्यून स्तरमा

चीनको केन्द्रीय बैंकले कोरोनापछिको अर्थतन्त्रमा आएको सुस्ततासँग जुध्न ब्याजदर घटाएको घोषणा गरेको छ। पछिल्लो ३ महिनामा चिनियाँ केन्द्रीय बैंकले ब्याजदर घटाएको यो दोस्रोपटक हो।

पिपुल्स बैंक अफ चाइनाले १ वर्षको प्राइम रेट ३.५५ प्रतिशतबाट घटाएर ३.४५ प्रतिशतमा झारेको जनाएको छ। एक वर्षको प्राइम रेट कर्पोरेट ऋणका लागि प्रयोग गरिन्छ।

त्यसैगरी पाँचवर्षे एलपीआर ४.२ प्रतिशतमा झरेको छ। यसलाई सुरक्षित ऋण दिन प्रयोग गरिन्छ।

चिनियाँ केन्द्रीय बैंकले गरेको यो कटौतीपछि ब्याजदर ऐतिहासिक तल्लो तहमा पुगेको छ। यसअघि जुनमा पिपुल्स बैंक अफ चाइनाले १ वर्षको कर्जा प्राइम रेट १० आधार बिन्दुले घटाएर ३.५५ प्रतिशतमा पुर्याएको थियो। त्यसैगरी पाँचवर्षे प्राइम रेट ४.३ प्रतिशतबाट ४.२ प्रतिशतमा झारेको थियो।

चीनको प्रयास ब्याजदर घटाएर बैंकहरुलाई थप कर्जा दिन प्रोत्साहित गर्ने हो। जसले गर्दा धेरैले कम ब्याजदरमा ऋण लिन सक्छन् र अर्थतन्त्रलाई गति दिन सकिन्छ।

 

Comments

Back to top