ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईले दिए बयान

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका निर्णयाधिकारी पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईले बयान दिएका छन् । आइतबार राति उनीहरुले सीआईबीलाई बयान दिएको खुलेको छ ।

सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे बताएको जानकारी दिएका छन् ।

‘ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रिपरिषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरू बारे सत्यतथ्यको जानकारी मेरो सुरूदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम सीआईबीलाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु,’ भट्टराईले सोमबार बिहान एक ट्वीट सन्देशमार्फत् जानकारी दिएका छन् । ‘यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु।’

तर माधवकुमार नेपाललाई कहाँ बयान लिएको भन्नेबारे सार्वजनिक भएको छैन ।

नेपाल र भट्टराईसँग बयान नलिइकन सीआइबीले आइतबार ललिता निवास जग्गा प्रकरणबारे जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर बयान नै नलिइ प्रतिवेदन बुझाउँदा सर्वोच्चको आदेश विपरीत हुने भन्दै आलोचना हुनेभएपछि सीआइबीले प्रतिवेदन बुझाउनुअघि बयान लिएको हो ।

Comments

Back to top