कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाइँदै

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुलामञ्चमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम रहेको छ ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम र यामबहादुर बिसीको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो ।

उनीहरुको मृत्य भएपछि तत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं प्रदेश घोषणा गरेको थियो।

Comments

Back to top