रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना–२५ दुर्घटना

रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना–२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना–२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

मानवरहित यान सोमबार चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने क्रममा थियो । तर अवतरण गर्नुअघिको कक्षमा समस्या देखिएलगत्तै लुना–२५ सँग सम्पर्क टुटेको रुसी सरकारी अन्तरिक्ष निकाय रोसकोमोसले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

अहिलेसम्म कुनै पनि देश नपुगेको दक्षिणी ध्रुवमा यतिखेर भारत र रुसबीच प्रतिस्पर्धा चलेको थियो । भारतको चन्द्रयान–३ आउँदो बुधबार अवतरण गर्ने प्रयासमा छ ।

चन्द्रमाको सतहमा भने अमेरिका र चीनका यानले यसअघि नै अवतरण गरिसकेका छन् । लुना–२५ अन्तरिक्षयान रुसले झन्डै ५० वर्षमा प्रक्षेपण गरेको चन्द्रयान हो । यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो ।

Comments

Back to top