राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले मंगलबार बिहान साँढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय न्यायिक छलफल गठनको माग राख्दै गत साउन १० देखि संसद् बैठक अवरुद्ध पार्दै आएको छ । 

Comments

Back to top