संसद् खुलाउने सभामुखको प्रयास असफल, एमालेको अडान कायमै
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पुरानै अडान दोहोर्याएको छ ।
सभामुख देवराज घिमिरेले आइतबार बिहान बोलाएको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले पुरानै अडान दोहोर्याएका छन् । बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार भने, “प्रमुख प्रतिपक्ष पनि उही अडानमा छ, सत्तापक्ष पनि उही अडानमा छ । विषयवस्तु हिजो जहाँ छाडियो, अहिले पनि त्यहीँ छ।”
एमाले प्रमुख सचेतक गिरीलाई उद्धृत गर्दै उनले थपे, “हामी अझ सशक्तरूपमा सदनमा प्रस्तुत हुन्छौँ।”
प्रमुख सचेतक परियारले सत्तापक्ष र प्रतिपक्षको चेपुवामा संसद् परेको र यो निकै दुखद् भएको बताए। “मैले तपाईंहरूले सङ्घर्ष गरेर यो व्यवस्था ल्याउनुभयो, अब सबै मिलेर यसलाई थप स्थायित्व दिनुपर्छ भनेर भनेँ । संसद्मा अरु दलहरू पनि छन्, तपाईंहरूले जनमतलाई बेवास्ता गर्नुभयो भनेर पनि भनेँ । तर, विषय जहाँको त्यहीँ छ,” उनले भने ।
साउन १० गतेयता संसद् बस्न सकेको छैन । क्वीन्टल सुन प्रकरणलगायतका विषयमा उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ । तर, सत्तापक्षले त्यो नमान्दा संसद् बन्धक बनेको छ ।
Comments